विर्तामाेड । झापाको बिर्तामोडलाई सफा शहर बनाउने अभियानमा जुटेको विवेकशील नेपाली झापा लगायतका संघसंस्थाले बिर्तामोड सरसफाई अभियानलाई निरन्तरता दिदै १२ औं हप्ता सफलतापूर्वक सम्पन्न गरेको छ ।
विगत १२ हप्तादेखि गर्दै आएको सरसफाई कार्यक्रम अन्तर्गत शनिबार कृषिथोक बजारस्थित केही दिनअघि आगलागी भएको स्थानमा सरसफाई गरिएको छ ।

झापामा क्रियाशील बिभिन्न संघसंस्थाकाे नेतृत्वमा शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म सरसफाई गरिएको थियो । उक्त स्थानबाट तीन ट्रयाक्टर जलेका कपडा, जुत्ता चप्पल, कस्मेटिक्स सामान निकालिएको थियो ।
त्यसैगरी रेयुकाई विर्तामोडले सरसफाई अभियानका लागि डस्ट बिन पनि हस्तातन्तरण गरेको थियो । विर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेकाले जम्मा भएको फोहोर मुक्ति चोक पूर्वको धर्मकाँटा दक्षिण लगेर फालिएको थियो ।
सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामाेड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा ,झापाली समाज युएइ, वेलफेयर क्लब , बागेश्वरी अशलशासन क्लब ,प्रकृति फाउन्डेसन, विवेकशील नेपाली झापा , सोसल सर्भिस क्लव, द राइजिङ युथ नेपाल, क्रियटिभ नेप्लिज युथ, वातावरण संरक्षण मञ्च नेपाल, रेयुकाइ विर्तामोड, विवेचना दैनिक , ग्रामीण सेवा समुदाय क्लव, गर्ल्स राइजिङ नेपाल लगायतका थुप्रै संस्थाकाे उपस्थिति रहेकाे थियाे ।