काठमाडौं । सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै डा. गोविन्द केसी र उहाँका समर्थकले शनिबार प्रदर्शन गर्दैछन् । प्रधानमन्त्रीलाई सम्झौता कार्यान्वयनमा दबाब दिन बालुवाटार अगाडि ‘उभिएर दबाब’ दिने डा. केसीले बताए ।
उनले गएको साउन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी सरकारसँग भएका आफ्ना सम्झौता र संसदमा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग समेटिएको ६ बुँदे मागपत्र बुझाएका थिए ।
आठौँ अनशनको १६ औँ दिनमा साउन ९ गते सरकार र डा. केसीबिच चार बुँदे सहमति भएको थियो । सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको डा. केसीको आरोप छ ।
उनले शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, पाँच वर्षभित्र सरकारी शिक्षण संस्थामा मेडिकल स्नातकोत्तर (पिजी) ७५ प्रतिशत निःशुल्क हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने, मेडिकल कलेज कम्पनी ऐनअनुसार दर्ता हुने प्रावधान खारेज गरी सेवामूलक ऐनअनुसार दर्ता हुनुपर्नेलगायतका माग राख्दै आठ पटक आमरण अनशन बसेका थिए ।