जाजरकोट ।
विद्यालय जाने बाटो बाढीले बगाएपछि पूर्वी जाजरकोटको बारेकोट क्षेत्रका विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन्।
सक्ला, रोकायगाउँ र नायकवाडा गाविस जोड्ने दोबिल्ला बाटो छेडागाड खोलामा आएको बाढीले बगाएपछि उनीहरु विद्यालय जान नसकेका हुन्। बाढीले झन्डै एक किमी बाटो बगाइदिएपछि विद्यार्थीका साथै स्थानीय बासिन्दालाई आवतजावतमा निकै समस्या परेको छ।
हिँड्ने बाटो नै नभएपछि विद्यालय जान नसकिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्सामा ९ कक्षामा पढ्ने नायकवाडा–६ का उषा शाहीले बताइन्। उनले आफूलगायत एक सय बढी विद्यार्थी बाटो नहुँदा पठनपाठनबाट वञ्चित भएको दुःख पोखिन्।
त्यस्तै १० कक्षामा अध्ययनरत सक्लाकी कमला कार्कीले पनि बाटो अवरुद्ध भएपछि एक हप्तादेखि विद्यालय जान नपाएको गुनासो गरिन्। बाढीले पूर्णरुपमा बाटोमा क्षति पुर्याए पनि केही विद्यार्थी र स्थानीय बासिन्दा जोखिम मोलेरै यात्रा गर्ने गरेको नायकवाडा–२ का भीमबहादुर सिंहले बताए।
विद्यालयका प्राचार्य गोरखबहादुर सिंहले विद्यालय आउन बीचमा खोला पर्ने भएकोले विद्यार्थीलाई निकै समस्या रहेको बताए। केही दिनअघि खोलामा आएको बाढीले बाटोसमेत बिगारिदिएपछि धेरै विद्यार्थी विद्यालय आउन छोडेको प्राचार्य सिंहको भनाइ छ।