राजविराज । अपहरणमा परेकी सप्तरीको एक ७ वर्षीया बालिकालाई १२ घण्टा नबित्दै प्रहरीले सिमावर्ती क्षेत्रवाट सकुशल उद्दार गरेको छ । वुधवार दिउँसो करिव ४ वजे अपहरणमा परेकी नर्घो–६ वस्ने लक्ष्मण मण्डलकी ७ वर्षीया छोरी सन्तोषीलाई प्रहरीले राती नै अपहरणमुक्त गराएको हो ।
अपहरणको जानकारी पाउनासाथ सादा पोशाकमा एसपी भिमप्रसाद ढकालको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतको मधुवनी जिल्लास्थित लौकही थाना अन्तर्गतको करियौत ग्रामपञ्चायतबाट बालिकालाई उद्दार गरेको हो ।
आफूसहित ईलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी झुटकीको संयुक्त प्रहरी टोलीले नेपाल–भारत शिमानावाट करिव १२ किलोमिटर दक्षिणमा रहेको एक गाउँवाट बालिकालाई उद्धार गरेको ढकालले जानकारी दिए । उनका अनुसार अपहरणकारीले वालिकालाई करियौत पुर्याएको थियो ।
‘करिव २५ वर्षीय युवकले रिसिवि साँध्न बालिकालाई अपहरण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ’ घटनाबारे जानकारी दिन विहिवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसपी ढकालले भने– ‘अपहरणकारीको पहिचान भईसकेकाले २/३ दिनभित्र प्रहरीले पक्राउ गर्छ ।’
उनले अपहरणकारी पक्राउ परेपछि थप कुरा वाहिर आउने जानकारी दिएका छन् । बालिकाको पिता लक्ष्मण मण्डल सदरमुकाम राजविराजमा होटल व्यवसाय गर्दै आएका छन् भने छोराछोरी आमासँग गाउँमा बस्दै आएको छ ।