काठमाण्डाैं । सवारी दुर्घटना बढ्नुको एउटा कारण कम उमेरका चालक पनि भएको पाइएपछि विद्यमान ऐन परिवर्तन गरी खासगरी सार्वजनिक सवारीसाधनको चालक अनुमतिपत्र पाउने उमेर बढाउने तयारी गरिएको अधिकारीहरुले बताएका छन्।
अर्को हप्तासम्ममा विभागीय मन्त्रालयमा पेश गर्न लागिएको परिमार्जित ऐनमा सवारी चालकलाई गरिने दण्ड सजाय समेत बढाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशकले बताएका छन्। परिमार्जन यातायात व्यवस्था विभागले कम उमेरका चालकलाई सवारी चलाउन रोक लगाउने भन्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई परिमार्जन गर्ने तयारी गरिएको बताएको छ। ऐनको परिमार्जित मस्यौदाबारे यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, “परिमार्जित ऐनमा १८ वर्ष नपुगिकन कुनै पनि प्रकारको सवारी साधन हाँक्न नपाउने उल्लेख छ। त्यस्तै सार्वजनिक सवारी हाँक्न विशेष खालको क्षमता चाहिने उल्लेख छ। अहिले १८ वर्षकाले चार पाँग्रे सवारी साधन चलाउन सक्छन् भने अब त्यसलाई बढाएर २१ वर्ष पुर्याउने अनि ठूल्ठूला गाडी चलाउन २५ वर्ष भन्दा माथिकाले मात्र पाउने गरी परिमार्जन गर्दैछौं।” हाल ऐनमा भएको व्यवस्था अनुसार १६ वर्ष उमेर पुगेकाले दुई पांग्रे, १८ वर्षकाले चार पांग्रे तथा २१ वर्ष उमेरकाले कुनै पनि प्रकारको सवारी साधन चलाउन सक्छन्।
सार्वजनिक सवारी हाँक्न विशेष खालको क्षमता चाहिने उल्लेख छ। अहिले १८ वर्षकाले चार पाँग्रे सवारी साधन चलाउन सक्छन् भने अब त्यसलाई बढाएर २१ वर्ष पुर्याउने अनि ठूल्ठूला गाडी चलाउन २५ वर्ष भन्दा माथिकाले मात्र पाउने गरी कानुन परिमार्जन गर्दैछौं । -चन्द्रमान श्रेष्ठ, महानिर्देशक, यातायात व्यवस्था विभाग
सार्वजनिक सवारी साधन चलाउनेका लागि पनि उही व्यवस्था छ। परिमार्जन गर्न लागिएको ऐनमा जरिवाना रकम बढाइएको र चालकको न्यूनतम शैक्षिक योग्यता पनि तोकिएको महानिर्देशक श्रेष्ठले बताए। उनले भने, “अब सवारी चालकले ट्राफिक नियम जान्नुपर्यो। अंक र अक्षरहरु चिन्नुपर्यो। अलिकति पढेलेखेको पनि हुनुपर्यो भनेर कम्तिमा १० कक्षा पास गरेकोले मात्र लाइसेन्स लिन पाउने व्यवस्था गर्न लागिएको छ। त्यस्तै अहिले अधिकतम ५ हजारमात्र जरिवाना गर्न पाउने व्यवस्था छ। त्यसलाई पनि समय सापेक्ष बनाई ४० देखि ५० हजार बनाउने तयारी भएको छ।” मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि व्यवस्थापिका संसदले परिमार्जित ऐन पारित गर्नु पर्छ।
साभार : बीबीसी नेपाली सेवा