जनकपुरधाम । माघ ५ गते अर्थात मधेश विद्रोहका शहीदहरुको सम्झना मनाइने बलिदानी दिवस यस वर्ष प्रदेश सरकारले भव्याताका साथ मनाएको छ ।
मधेश विद्रोहका प्रथम शहीद रमेश महतोले शहादत प्राप्त गरेकाे दिन माघ ५ गते सरकारले बलिदानी दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप सिरहाको लहानमा भव्य कार्यक्रमको आयोजना गरियाे ।
उक्त कार्यक्रममा प्रदेश सरकारले मधेश विद्रोहका ४६ जना शहीद परिवारलाई रोजागारी पत्र समेत प्रदान गरेको छ । प्रदेश सरकारको पहिलो मन्त्रि परिषदको बैठले शहीद परिवारलाई रोजगारी दिने घोषणा गरे अनुरुप बलिदानी दिवसको अवसर पारेर मुख्यमन्त्री लालबाबु राउतले उनिहरुलाई रोजगारी पत्र प्रदान गरेका हुन् ।
त्यसैगरी प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा शक्त घाइते भएकाहरुलाई राहत समेत उपलब्ध गराएको छ । ७७ जना घाइतेहरुको उनिहरुको अवस्था हेरी २५ हजार देखी ३ लाख सम्मको चेक हस्तान्तरण गरिएको छ ।
शहीद परिवार तथा घाइतेहरुलाई उप्रप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरेका थिए ।
कार्यक्रममा उप्रधानमन्त्री यादवले मधेशी जनताले गरेको बलिदानीकै कारण मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको र मधेशीहरु मुलुकमा मात्र नभई विश्वभरिमै आफनो पहिचान स्थापित गरेको बताए ।
शहीदहरुको बलिदानी र घाइतेहरुको परिश्रमलाई आफुहरु कहिले पनि विर्सन नसक्ने उल्लेख गर्नु हुँदै उनले अब प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै थप अधिकारको लागि संघर्ष गर्ने जिम्मेवारी आफुहरुको काँघमा रहेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री राउतले शहीदको बलिदानीकै कारण आज प्रदेश नं. २ मा मधेशी जनताको सरकार स्थापित भएको उल्लेख गर्दै प्रदेश सरकार शहीद हरुको सपना साकार पार्न लागि परेको उल्लेख गरे ।
मधेश आन्दोलनको बलामा स्थापित संघीयतालाई कमजोर पार्ने काम भइरहेको तर्फ सचेत गराउँदै उनले त्यस्तो कार्य प्रदेश नं २को जनता र प्रदेश सरकारलाई स्वीकार हुन नसक्ने चेतावनी दिए ।