धनुषा । धनुषा जिल्ला अदालतमा मंगलबार एकाएक हाजिर भएका जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्डका अभियुक्त रामविनोद यादवलाई पूर्वपक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतमा यादवले आफूले धनुषाका निलम्बित सांसद तथा घटनामा मुख्य योजनाकारको आरोपित संजय साह बाहेक कसैलाई नचिनेको बयान दिएका छन् । पत्रकारहरुको जिज्ञासामा उनले प्रहरीले आफूमाथि ज्यादती गरेकोले न्याय पाउनका लागि आत्मसमर्पण गरेको बताएका छन् ।
सिंघानियाको हत्या पश्चात लामो समयदेखि फरार रहेर प्रहरीको खोजी सूचिमा रहेका यादव मंगलबार एकाएक धनुषा जिल्ला अदालतमा हाजिर भएका हुन् ।
धनुषा कनपट्टीका ४५ वर्षका यादव मंगलबार दिउँसो १ बजे धनुषा जिल्ला अदालतको ईजलास नं. ५ मा हाजिर भएका थिए । हाजिर पश्चात यादवको तर्फबाट आधिवक्ता चन्द्र किशोर शर्मा मैनाली, विजय ठाकुर र राजेन्द्र दहालले वकालत गरेका थिए भने विपक्षमा सरकारी वकिल टेक बहादुर कार्की र होम कार्कीले बहस गरेका थिए ।
ईजलास नं. ५ का न्यायधीश डा.राजेन्द्र प्रसाद आचार्यको आदेशले अभियुक्त यादवलाई पूर्वपक्षको लागि महोत्तरीको जलेश्वर कारागार पठाउँने आदेश दिएको अदालतले जनाएको छ ।
अभियुक्त यादव एकाएक अदालतमा हाजिर हुँदा प्रहरी लगायत सर्वसाधारणसमेत आश्चर्य चकित भएका छन् । जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको वि.स. २०६६ फागुन १७ गते होली पर्वको दिन जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या भएको थियो ।