काठमाडौं । २ नं प्रदेश सरकारले मधेश आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झानामा शनिबार बलिदानी दिवस मनाउने भएकाे छ ।
मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका विद्यार्थी नेता रमेश महतोको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । सोही दिनको स्मरणमा प्रदेश सरकारले औपचारिक रुपमै बलिदानी दिवस मनाउन लागेको हो ।
सिरहाकाे लहानमा हुने उक्त कार्यक्रममा प्रदेश सरकारले विभिन्न चरणमा भएका मधेश आन्दोलनमा घाइते भएकाहरुलाई राहत रकम पनि वितरण गर्ने जनाएको छ ।
यस्तै प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले गरेको एक शहीद परिवार एक रोजगारी नीति अन्तर्गत केही शहीद परिवारका सदस्यलाई नियुक्ति पत्र पनि दिनेछ । उनीहरुलाई शैक्षिक योग्यताको आधारमा प्रदेशका विभिन्न स्थानमा रोजगारीको व्यवस्था गर्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दिपक यादवले बताए ।
प्रदेश सरकारले गत पुस ५ गते यादवको संयोजकत्वमा मधेश आन्दोलमा मृत्यु भएका र घाइते भएकाहरुको विवरण संकलन गर्न समिति गठन गरेको थियो । जसअनुरुप उक्त समितिले मधेश आन्दोलमा घाइते भएकाहरुको वर्तमान अवस्थाका बारेमा पनि विवरण संकलन गरेको थियो ।
सरकारले घाइतेको अवस्था हेरी वर्गीकरण गरेर २५ हजारदेखि तीन लाख रुपैंयाँसम्म राहत रकम दिने बताइएको छ ।
मधेश आन्दोलनका क्रममा ५६ जनाले ज्यान गुमाएको तथ्याङ्क मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसंग छ । ती मध्ये केही शहीदका परिवारलाई प्रदेश सरकारले यसअघिनै रोजगारीको व्यवस्था गरिसकेको छ भने अब बाँकी रहेका शहीदका परिवारलाई पनि रोजगारीको व्यवस्था गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ
शनिबार सिरहाको लाहानमा आयोजना हुने कार्यक्रममा ७३ घाइतेलाई राहत स्वरुप चेक दिने तयारी छ । यसअघि पनि सरकारले २५ जनालाई राहत प्रदान गरिसकेको छ ।