विर्तामोड । विर्तामाेडकाे साैन्दर्य बढाउन र स्वच्छ नगर बनाउन विर्तामाेडका युवा सरसफाई अभियान मार्फत जुर्मुराएका छन् ।
प्रकृति फाउन्डेसन, युवा सङ्घ, विवेकशील नेपाली सोसल सर्भिस क्लव, द राइजिङ युथ नेपाल, क्रियटिभ नेप्लिज युथ, फ्युचर स्टार युथ क्लव, वातावरण संरक्षण मञ्च नेपाल, रेयुकाइ विर्तामोड, ग्रामीण सेवा समुदाय क्लव, गल्र्स राइजिङ नेपाल लगायतका दस वटा संस्थाले शनिवार विर्तामोडमा भेलाको आयोजना गरी सरसफाइ अभियानको नेतृत्व लिने निर्णय गरेका हुन् ।
‘आफ्नो सहरको फोहोर अर्को सहरको बासिन्दा आएर सफा पार्नु पर्ने अवस्था आउनु हुँदैन’, विर्तामोडमा क्रियाशील युवा सङ्गठनहरू सरसफाइ अभियानमा जुट्नुको कारण बताउँदै प्रकृति फाउन्डेसनका अध्यक्ष टिकाराम मग्राती भन्छन्–‘तर विगत ११ महिनादेखि विवेकशील नेपालीका साथीहरू विर्तामोडमा आएर हप्तैपिच्छे सडक बढारिरहेका रहेछन् ।’
दमकका विवेकशील नेपालीका युवाहरू विर्तामोडमा धाएर सरसफाइको कार्य गरिरहेको घटनाले स्थानीय युवाहरूलाई अभियानमा जुट्न प्रेरित गरेको मग्राती बताए ।
शनिवार युवा संस्थाहरूको भेलाले आउँदो शनिवारदेखि सातामा एकपटक विर्तामोडमा वृहत सरसफाइ अभियान सञ्चालन गर्ने र सरोकारवाला निकायसँग छलफल चलाएर दीगो समाधानको उपाय खोज्ने निष्कर्ष निकालेको छ ।
युवाहरूले शनिवार विहान २ घण्टा सरसफाईमा श्रमदान गर्ने, नगरपालिका र वाणिज्य सङ्घलाई समस्या समाधानका लागि घच्घच्याउने समेत निर्णय गरेका छन् ।
हाल विर्तामोडमा नियमित रुपमा फोहोर उठाउन नसक्दा सडक बजारमै दुर्गन्ध फैलिने गरेको छ । कहिलेकाहिँ नगरपालिकाले सङ्कलन गर्दै आएको फोहोर समेत विसर्जन गर्ने उपयुकत थलो नभएर राजमार्ग किनार, खोलानाला र जङ्गल आसपासमा जथाभावी फ्याक्ने गरिएको छ ।
शनिवार युवाहरूको भेलामा जिल्ला ट्राफिक प्रहरी र अनारमनी इलाका प्रहरी कार्यालयको प्रतिनिधि समेत उपस्थित थिए ।
युवा समूहका अगुवा प्रकृति फाउन्डेसनका अध्यक्ष मग्रातीले आगामी दिनमा अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउँदै मग्राती भन्छन्–‘फेसबुकमा फोटो हाल्नका लागि मात्र हाम्रो अभियान होइन भन्ने कुरा हामी सबै विर्तामोडवासीलाई अवगत गराउन चाहन्छौँ ।’
विर्तामोडमा महलमा बसेर सडकमा फोहोर गर्नेहरूलाई अब सरसफाई अभियानमा ल्याइने समेत उनले दावी गरेका छन् ।
