झापा । गिलासमा राखिएको पेयपदार्थ कोकाकोला वा पेप्सी होइन । यो त चौधरी ग्रुपको उत्पादन रियो अल्फेन्सो मेङ्गो जुश हो ।

झापाको शरणामती ९ का जीवनाथ दंगालले स्थानीय पसलबाट उपभोगका लागि खरिद गरेको रियो जुशमा कालो लेदो पाइएको हो । पहेलो रङ्गमा तयार हुने रियो जुश गन्हाएको र कालो लेदो बस्तु फेला परेपछि प्रहरीलाई आज बुझाइएको छ ।
स्थानीय मोहन पोख्रेलका अनुसार लेदो मिसिएको जुशका केही थान ईलाका प्रहरी कार्यालय अनारमनी मार्फत गुणस्तर तथा नापतौल विभागमा परीक्षणको लागि पठाइएको छ ।
चौधरी ग्रुपद्वारा उत्पादित रियो जुशको पकेटमा अझै नौ महिना उपभोग अवधि बाँकी रहेको प्रष्ट देखिन्छ । तर उपभोग्य वस्तु खानै नमिल्ने अवस्थामा पाइए पछि अहिले उपभोक्ता अधिकारकर्मी, प्रहरी, उद्योगका प्रतिनिधि तथा रियोमा लेदो भेट्ने उपभोक्ताबीच इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको छ ।
उद्योगले जुश उत्पादनमा गंभीर लापरबाही गरेको स्थानीयले जिकिर गरेका छन् । बालक, बृद्धबृद्धा तथा रोगी बिरामीले पनि बिना हिच्किचाहट उपभोग गर्ने यस्तो खाद्य वस्तुमा लापरबाही हुनु जनस्वास्थ्य माथि ठाडो खेलबाड भएको अधिकारकर्मीहरु बताउँछन् ।