विर्तामोड । नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई समयमा विद्युत मिटर दिन नसक्दा झापामा विद्युत् हुकिङ गर्ने बढेका छन् । विद्युत् मिटर केन्द्रीय कार्यालयबाट नआएको भन्दै प्राधिकरणले मिटर वितरण नगर्दा सुरुङ्गा पश्चिमको ग्रामिण क्षेत्रमा हुकिङ गर्ने बढेका हुन् ।
शिवगञ्ज, सतासीधाम, तोपगाछी, गौरीगञ्ज, खजुरगाछी, महाभारा, कोहोबरालगायतका स्थानमा स्थानीयवासी अहिले मिटर नपाएको भन्दै विद्युत् हुकिङ गरेर वत्ती बाल्ने, सिचाइँका लागि मोटर चलाउने काम गरिरहेका छन् ।
उता, नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले समयमा मिटर दिन नसक्दा करिब २५ सय घरधुरी छिमेकीको घरबाट विजुली बाल्न बाध्य भएको बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण, दमक शाखाले २०७१ साल फागुन महिनादेखि मिटर वितरण गर्न सकेको छैन । प्राधिकरणको केन्द्रीय कार्यालयबाटै मिटर नआएपछि उपभोक्तालाई मिटर उपलब्ध गराउन नसकेको प्राधिकरण दमक शाखाका प्रमुख सुरेन्द्रकुमार शाहले बताए ।
नेपाल विद्युत प्राधिकरण दमकको क्षेत्रभित्र पर्ने दमक, गौरादह र मोरङको उर्लाबारी वितरण केन्द्रमा अहिले १४ हजार बढीले मिटरको माग गर्दै आवेदन दिएका छन् ।
Facebook Comments Box