धाइजन । १७औं अन्तरराष्ट्रिय युवा दिवसको अघिल्लो दिन झापाको धाइजनमा विविध कार्यक्रम गरी दिवसको शुभारम्भ गरिएको छ ।
युवासँग सरोकार राख्ने झापाका डेढ दर्जन संघ संस्थाले सामुहिक कार्यक्रमको आयोजना गरी वृक्षारोपण तथा सरसफाई गरेर युवा दिवस मनाएका हुन् ।
धाइजन गाविसस्थित बलभद्र जनता उच्च माविको प्राङ्गण सरसफाई तथा वृक्षारोपण गरिएको युथ एक्सन नेपाल झापा शाखाका संयोजक दिपक दासले जानकारी दिए । विद्यालय परिसरमा साल, मलेसीयन साल, टिक, रंग काठ, चापलगायत जातका बिरुवा रोपिएको थियो ।
युथ एक्सन झापाले संयोजन गरेको कार्यक्रममा युरेशिया रेयुकाई, द राइजिङ क्लब, क्रिएटिभ युथ नेटवर्क, झापा सरोकार समाज, बागेश्वरी असल शासन क्लब, निलहिरा समाज, इसीएफ झापालगायतका ७० भन्दा बढी युवा र विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो । सोही अवसरमा सहभागी युवाबीच मैत्रीपूर्ण फुटबल खेल पनि खेलाइएको थियो ।
शुक्रबार जिल्लाभरका युवा सहभागी गराई युवा सरोकारका विषयमा अन्तरसंवाद कार्यक्रम गराइने र शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्ने युथ एक्सनका झापा संयोजक दासले बताए ।