
बिर्तामोड । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिजको १७औँ स्थापना दिवसको अवसरमा आज बिर्तामोडमा झापाका तीनजना पत्रकारलाई सम्मान गरिएको छ ।
फोनिज झापा शाखाद्वारा स्थापित डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट प्रतिदिन दैनिकका कार्यकारी सम्पादक रमेश समदर्शी सम्मानित भएका छन् । उनलाई नगद १३ हजार १७ रुपैयाँसहित सम्मानपत्रबाट सम्मानित गरिएको हो ।
यस्तै उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमकी पुष्पा लिम्बू र सनराइज एफएमकी शारदा खवासलाई जनही एक हजार ५१७ रुपैयाँसहित प्रोत्साहन पत्रबाट सम्मानित गरिएको छ । सम्मानित तीनै जना पत्रकारलाई फोनिजका केन्द्रीय उपाध्यक्ष भैरव आङ्गलाले सम्मानपत्र प्रदान गरे । यस्तै पुरस्कार रकम फोनिजका जिल्ला अध्यक्ष गणेशमान मुखियाले हस्तान्तरण गरेका थिए ।
कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष गणेशमान मुखियाले गरेका थिए । कार्यक्रममा फोनिजका केन्द्रीय उपाध्यक्ष आङ्गला, केन्द्रीय सदस्य इन्द्रजीत मुखिया, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेल, शिक्षासेवी खिलप्रसाद शिवाकोटीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अमित खम्बुले गरेका थिए ।