काठमाडौ ।
सूचनाको हकको प्रयोगले बैदेशिक रोजगारीमा जाने कामदार सुरक्षित हुने भन्दै यसको प्रबद्र्धनमा सरोकारवालाहरूले जोड दिएका छन् ।
मिडिया एडभोकेसी नेपाल (म्याग)ले बिहिवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बैदेशिक रोगजारीमा जाने कामदारलाई सूचनाको हकको बारेमा सचेतता दिनु पर्ने बताए ।
बैदेशिक रोजगारीमा जाने कामदारले आफू जाने कम्पनी, कामको प्रकृति कामका क्रममा हुने दुर्घटना पछिको क्षतिपूर्ती लगायतको बिषयमा पहिलै जानकारी पाएमा कामदार ठगिने संभावना कमी हुने उनीहरुको भनाइ थियो ।
सूचनाको अभावकै कारण बैदेशिक रोजगारीमा जाने कामदार ठगिएको, बिचौलीयाले झुक्याउने गरेको र विदेशका गएर अलपत्र पर्ने गरेको जानकारहरुको भनाइ थियो ।
कार्यक्रममा सूचना आयोगका सहसचिव महेन्द्र थापा, श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको सुरक्षित आप्रवासन परियोजनाका सूर्यप्रसाद भण्डारी, पौरखी नामक सञ्जालकी विजया राइ श्रेष्ठ, सुरक्षित आपै्रवासन सञ्जालका अध्यक्ष सिद्धिचन्द्र बराल र म्यागकी अध्यक्ष बबिता बस्नेतले विदेशमा रोजगारीमा जानेहरुलाई सूचनाको हकबारे सचेत गराउनु पर्ने बताएका थिए ।