पोखरा । गत सोमबार फेवातालमा भएको डुङ्गा दुर्घटनापछि बेपत्ता भएका दुईजनाको शव बिहीबार फेला परेको छ।
चार दिनयता लगातार बेपत्ताको खोजी गरिएपनि बिहीबार बिहान मात्र उनीहरूलाई मृत अवस्थामा फेला पारिएको हो। बेपत्ता भएका काठमाडौँ चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र काठमाडौँ वसुन्धराका २३ वर्षीय एलिन केसीको शव भेटिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए।
बिहीबार पनि बिहानैदेखि बेपत्ता व्यक्तिको खोजी सुरु गरिएकोमा बिहान ७ बजेतिर शव पानीमा तैरिएको अवस्थामा फेला परेको थियो।
प्रहरी, सशस्त्र प्रहरी र माझीको समूहले डुङ्गा दुर्घटना भएकोभन्दा दक्षिणी क्षेत्रलाई केन्द्रित गरेर शव खोजिएकोमा दुर्घटना भएको भन्दा करिब ३०० मिटर दक्षिणमा केसीको शव भेटिएको थियो। केसीको शव भेटिएको करिब आधा घन्टापछि प्रतीक श्रेष्ठको शव पनि पानीमा तैरिरहेको अवस्थामा फेला परेको थियो।
कास्की प्रहरीका अनुसार श्रेष्ठको शव केसीको शव भेटिएको भन्दा करिब ३०० मिटर दक्षिणमा र डुङ्गा दुर्घटना भएको भन्दा करिब ६०० मिटर दक्षिणमा भेटिएको हो।
मृतक दुवैको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। परीक्षणपश्चात् आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ। मृतकका आफन्त यसअघि नै पोखरा आइसकेका छन्।
साथीसहित पोखरा घुम्न आएका उनीहरु सोमबार दिउँसो तालपारि घुम्न गएकामा खाना खाएर तालवारि फर्कने बेलामा भएको दुर्घटनापछि बेपत्ता भएका थिए।
दुर्घटनापछि अन्य छजनाको भने सकुशल उद्धार गरिएकामा उनीहरु उपचारपछि घर फर्किसकेका छन्। रासस