बिर्तामोड । झापाको बिर्तामोड–१ का ५० वर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वाले आफ्नो दुबै मिर्गौला(किड्नी) खराब भएको सुनाउँदै उपचार खर्च जुटाएर जीवन बचाइदिन अपील गरेका छन् ।
ज्याला मजदुरी गरेर जसोतसो परिवारको गुजारा चलाउँदै आएका खड्गबहादुर विगत ९ महिनादेखि थलिएका छन् । बिर्तामोड(१ सुकुम्वासी टोलमा बस्ने उनी माइला नामले चिनिन्छिन् ।
परिवारको भरणपोषणका लागि मजदुरी गर्ने माइला विरामी परेपछि उपचार खर्च अपुग मात्र होइन परिवारको छाक टार्नै मुस्किल पर्ने गरेको उनकी श्रीमती बुद्धमाया बताउँछिन् । अहिलेसम्म उपचारमा तीन लाख रुपैयाँभन्दा बढी रकम आफ्नो भएभरको सम्पत्तिबाट जुटाएर खर्च गरेको माइलाले बताए ।
अवस्था विग्रदै गएपछि केही दिनबाट उनको मिर्गौलाको डायलासिस शुरु भएको छ । चिकित्सकले जतिसक्दो चाँडो पैसा जुटाएर मिर्गौला फेर्ने सल्लाह दिएकाले पैसाको अभावमा उनी चिन्तित बनेका छन् । ‘मिर्गौला नफेरे म बाँच्दिन, त्यसका लागि पैसा चाहिन्छ, पैसा छैन’ माइलाले भने, ‘मेरो जीवन तपाईहरुको हातमा छ, सहयोग जुटाएर बचाई दिनुहोस् ।’
मिर्गौला दान गर्ने मान्छे नभेटिएको अवस्थामा फेर्नको लागि १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । उनी अहिले मिर्गौला दानका लागि आफन्तजनलाई हारगुहार गरिरहेका छन् भने रकम जुटाउनका लागिसमेत सहयोगको याचना गरिरहेका छन् ।
लामो समय यातायात चालक भई मजदुरी गर्दै आएका उनी पछिल्लो समय बिर्तामोड नगरपालिकाको बारुण यन्त्र कर्मचारी थिए । विरामले थलिएपछि त्यो कामसमेत उनले छाडे्का छन् । नेपाली कांग्रेसका सक्रिय सदस्य माइला तरुण दल बिर्तामोडका सल्लाहकार हुन् ।
यसैबीच सामाजिक क्षेत्रमा क्रियाशील लोकबन्धु कन्दङ्वा, मदन गोपाल सुब्बालगायतको अगुवाईमा ‘खड्ग लिम्बू माइला बचाउ समिति’ बनाएर अभियान शुरु गरिएको छ ।
बुधवार माइलाकै निवासमा भेला भएका सामाजिक अगुवाहरुले उनको जीवन बचाउनका लागि लक्ष्मण खड्काको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिको सचिवमा मदन गोपाल सुब्बा र कोषाध्यक्षमा धनराज योङहाङ रहेका छन् ।
सदस्यहरुमा राजु आचार्य अग्नि, सञ्चार नेम्वाङ, लोकबन्धु कन्दङवा, भोजराज सिटौला, राजेन्द्र थापा, गोपी गिरी, प्रकाश शिवाकोटी, राजु कन्दङवा, सजेश शिवाकोटी, बलदेव गोम्देन, टेकबहादुर सुब्बा, एकराज उप्रेती, कुमार भट्टराई, टेकराज तिलिङ, उमेश डालमिया, नगेन्द्र बस्नेत, तुलाराम गुरुङ, ठगबहादुर खड्का, लाजेहाङ साम्यु र अफ्रोज खान रहेका छन् ।