काठमाडौँ । टेलिभिजन क्षेत्रको प्रतिष्ठित अवार्ड ‘अन्तराष्ट्रिय एम्मी अवार्ड २०१६’को मनोनयन मंगलबार सार्वजनिक भयो। यस पटक समाचार विधामा कतारको समाचार संस्था अल जजिरा कार्यरत नेपाली पत्रकार सुबिना श्रेष्ठ पनि मनोनित भएकी छिन्।
गत वर्ष वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछिको नेपालको अवस्थालाई श्रेष्ठले लगातार कभरेज गरेकी थिइन्।
छापा पत्रकारिता र डकुमेन्ट्री निर्देशनमा लागेकी सुबिना सन् २००६ मा अल जजिराको स्थापनापछि टेलिभिजन रिपोर्टिङमा लागेकी हुन्। उनले नर्गिस चक्रवातपछिको अवस्थालाई कभर गरेको भिडियो रिपोर्टिङका लागि पनि ‘कोन्सेन्ट्रा अवार्ड’ पनि जितिसकेकी छिन्।
सन् २०१५ र २०१६ मा नेपालको भूकम्प पछिको अवस्थालाई समेटेर सुबिनाले ‘द स्टोरी आइ विस आइ नेभर ह्याड टू टेल’ नेपाल फेमिलिज जोइन फेस्टिभल टू रिमेम्बर डेड रेलेटिभ्स , नेपाल अर्थक्विक सर्भाइवर्स फेस विन्टर्स कोल्ड , नेपाल अर्थक्वेक्स ओपेन वोउन्ड्स जस्ता भिडियो रिपोर्ट तयार गरेकी थिइन्।
उनले आफ्ना रिपोर्टहरुमा भूकम्पपछि सिर्जना भएको पीडादायी, त्रास, दु:ख आदिलाई प्रस्तुत गरेकी छिन्।
केही वर्ष यता एम्मी अवार्डमा समाचार विधाका लागि मनोनित संस्थाको समाचारको विषय हेर्दा मनोनयनका लागि प्राकृतिक प्रकोप र युद्ध सम्बन्धी टेलिभिजन रिपोर्ट प्राथमिकतामा रहेको देखिन्छ।
एम्मी अवार्ड २०१६मा न्युजमा ४ वटा र करेण्ट अफेयर्स विधामा ४ गरी ६ देशका ८ वटा समाचार संस्थाहरु मनोनित भएका छन्। मनोनयनमा परेका मध्यबाट विजयी हुनेको नाम सेप्टेम्बर २९ मा घोषणा गरिनेछ।