बिर्तामोड । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समितिको आयोजनामा २२औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी दिवसको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आदिवासी जनजातिको परिभाषा, आदिवासी दिवसको महत्व र आदिवासीको अन्तराष्ट्रिय अधिकारहरु, नेपालको संविधानमा आदिवासीको अधिकार र आदिवासी जनजातिका असन्तुष्टिका विषयहरु, समानुपातिक र समावेशी सिद्धान्तलगायतका विषयमा सहभागीबाट राखिएको जिज्ञासालाई लाहुर्निप क्षेत्रीय संयोजक तथा अधिवत्ता मकवान सुब्बाले सहजीकरण गरेका थिए ।
विद्यार्थी महासंघ झापाका अध्यक्ष हैकम घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सागर लिम्बुले गरका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष इनु मुखियाले गरेका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका सह–सचिव विरेन मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेफिन विर्तामोडका अध्यक्ष पदमबहादुर तामाङ, नेपाल मगर संघ नगर कमिटि अध्यक्ष शिवन सोराली मगर, रेडियो सनराईजका समाचार प्रमुख इन्द्र सिंह राजवंशी लगायतको आतिथ्य रहेको थियो ।
त्यसैगरी २२औं विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोडको आयोजना र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ झापाको सह–आयोजनामा गरिएको रक्तदान कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रवीन्द्रप्रसाद वस्तीको प्रमुख आतिथ्य रहको थियो ।
नगर महासंघका अध्यक्ष पदमबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो ।