विर्तामोड । झापाको विर्तामोडस्थित कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत तीन दर्जन भन्दा बढी स्टाफ नर्सका विद्यार्थीलाई फुड पोइजनिङ भएको छ । उनीहरुको विर्तामोडको विर्ता सिटी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
मंगलबार बिहान करीब ३ बजेदेखि उनीहरुलाई बान्ता हुने र झाडा पखाला लागेपछि अस्पतालमा भर्ना गरिएको इन्स्टिच्युटका अध्यक्ष ध्रुव शिवाकोटीले जानकारी दिए ।
शिवाकोटीका अनुसार ५/६ जना विद्यार्थी रातिदेखि नै विरामी परेका थिए । उनले भने, ‘बेलुका सँधै झैं राम्रै खाना खुवाएको थियो ।’
उपचारमा संलग्न चिकित्सक डा. सुदीप भट्टराईले बासी खानाको कारण उनीहरुमा फुड पोजनिङ भएको हुनसक्ने बताए ।
अस्पताल भर्ना भएकाहरु स्टाफ नर्सका प्रथम, दोस्रो र तेस्रो बर्षका विद्यार्थी हुन् । केहीको झाडा बान्ता अझै नरोकिएको डा. भट्टराईले जानकारी दिए ।
विरामी छात्राहरुले होस्टेलमा एकै साथ सोमबार बेलुका खाना खाएका थिए ।