विर्तामाेड । क्याप्टेन रञ्जन लिम्बुका बुवा भक्त खेवाङले सोमबार अपरान्ह तीन बजेतिर छोराले उडाएको हेलिकप्टर दुर्घटना भएको थाह पाए ।
उनी दमकमा हुँदा छोराले उडाएको हेलिकप्टर हराएको थाह पाए । उनले भक्कानिँदै भने, ‘हेलिकप्टर हरायो भन्ने थाह पाउनसाथ छोरा छैन भन्ने अनुमान लगाएँ ।‘
क्याप्टेन लिम्बुकी आमा शान्ताकुमारी लिम्बु केही बोल्न सकिरहेकी छैनन् ।
२०४६ साल असार १० गतेका दिन जन्मेका क्याप्टेन लिम्बुले २१ बर्षको उमेरमा विमान चालक बनिसकेको उनका बुवा भक्तले बताए । उनले अमेरिकाबाट विमान चालकको कोर्स गरेको उनले बताए । उनी दुई बर्ष अघि क्याप्टेन भएको बुवा भक्तले बताए ।
उनी सानैदेखि पढनमा अब्बल समेत भएको परिवारका सदस्यहरुले बताएका छन् । बाबु आमाका कान्छा छोरा रन्जन सानैदेखि हक्की स्वभावका समेत भएको परिवारका सदस्यले बताएका छन् ।
उनका बाबु भक्त ब्रिटिस आर्मीमा काम गर्थे । धाइजन ६ पीपलडाँगी रहेको घरमा क्याप्टेन रन्जनका बुबा, आमा र दाजुको परिवारको बसोबास छ । अविवाहित रन्जन परिवारका कान्छा छोरा हुन् ।
उनी काठमाण्डौमा ए लेभलको पढाई सकेर पाइलट बन्न अमेरिका गएका थिए । उनले उडाएको फिसटेल एयरको हेलिकप्टर नुवाकोटको बेतिनीमा सोमबार दुर्घटना हुँदा उनी लगायत त्यस्मा सवार सात जनाको मृत्यु भएको छ ।