झापा । नुवाकोटको मदनपुर-९ पाखुरेमा सोमबार दिउँसो दुर्घटना भएको हेलिकप्टर अनुभवी पाइलट रञ्जन लिम्बुले उडाएका थिए। झापा धाइजन ६- पिपलडाँगीका लिम्बु सन् २०११ मा फिस्टेल एयरमा आवद्द भएका थिए। गोरखाको फिलिमबाट बिरामी लिएर काठमाडौंतर्फ उडेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर नुवाकोटमा खसेको हाे।
को- पाइलटबाट पाइलट भएका लिम्बुले १६ सय घन्टा जहाज उडाइसकेका थिए। २५ वर्षे लिम्बुका बुबा भक्तबहादुर बेलायती लाहुरे हुन्। दुई दाजुभाइ मध्ये लिम्बु कान्छो छोरा हुन् ।
नेपालमै केही गरौं भनेर बेलायतको आवासिय सुविधा छोडेर लिम्बु नेपाल आएका पारिवारिक स्रोतले जनाएको छ।
हाईअल्टीच्यूटको समेत प्रशिक्षण लिएका लिम्बुले स्विटजरल्याण्डमा स्लीङ्ग अपरेशनकोसमेत प्रशीक्षण लिएका थिए।
सोमबार गोरखाबाट सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गएका उनी काठमाडौं फर्किँदा दुर्घटनामा परेका थिए।
हेलिकप्टरमा एक बालकसहित ५ यात्रु थिए। नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले हेलिकप्टर नुवाकोटको मदनपुर-९ पाखुरेमा खसेको स्थानीयले प्रशासनमा जानकारी दिएको बताएका छन्।
साभार: सेताेपाटी