काठमाण्डाैं – आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी पर्व हिन्दू धर्मावलम्बीले विशेष श्रद्धापूर्वक मनाउँदै छन् ।
आजको दिन घरको मुल ढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएका नागको चित्र गोबरले टाँसेर गाईको दूध, दुबो र फूल अक्षताले नागको पूजा अर्चना गर्ने चलन छ ।
हिन्दू परम्पराअनुसार नागलाई मनपर्ने दूध र दुबो चढाई स्तुति र पूजा गर्नाले घरमा चट्याङ नपर्ने, गरुड तथा सर्पको डर नहुने र आगलागी तथा वैदी विपत्ति नपर्ने जनविश्वास रहिआएको छ ।
आज नागका अष्टकुल अनन्त, बासुकी, पद्म, महापद्म, कुलीर, कर्कट, र शंखनागको पूजा गरिन्छ । नाग पञ्चमीका अवसरमा काठमाण्डुको नक्सालको नागपोखरी, ललितपुरको धापाखेल, भक्तपुरको सिद्धपोखरी र काभ्रेको पनौतीसहित देशभरका नागपोखरी र मन्दिरमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।
नागहरुले धान रोपाईंका लागि पानी पारेको र धान रोपाईं सकिएकाले कृतज्ञता ज्ञापन गर्न नाग पूजा गर्ने गरिएको किंवदन्ती छ ।