विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ऋणपत्रमार्फत जनताको प्रत्यक्ष सहयोगबाट विकास निर्माणका कार्य गर्न सकिने बताएका छन् ।
‘समृद्धि नेपालको आर्थिक आधार–गतिशील, विश्वसनीय तथा पूँजी बजार’ भन्ने मूलनाराका साथ नेपाल धितोपत्र बोर्डद्वारा आयोजित पहिलो प्रादेशिक पूँजी बजार प्रदर्शनी–२०७५ को आज उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।
मुख्यमन्त्री राईले महानगरपालिका, नगरपालिका र गाउँपालिकाले ऋणपत्र जारी गरेर जनतालाई प्रत्यक्ष लाभमा सहभागी गराई पूँजीको विकासबाट ठूला तथा मझौला विकास निर्माण कार्य गर्नुपर्नेमा जोड दिए ।
जनताको प्रत्यक्ष सहयोगमार्फत प्रदेश नं १ मा खेर गइरहेका पानीको सदुपयोग गरी जलविद्युत्, सिँचाइजस्ता योजना कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले सहयोगको नीति लिएको उल्लेख गर्दै उनले यसबाट यस क्षेत्रका जनताले रोजगारी प्राप्त गरी आर्थिक समृिद्धमा सहयोग पुर्याउने बताए ।