बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाद्वारा स्थापित स्व. डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष प्रतिदिन दैनिकका कार्यकारी सम्पादक एवम् नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी राई पुरस्कृत हुने भएका छन् ।
महासंघ झापा शाखाका अध्यक्ष गणेशमान मुखियाको अध्यक्षतामा शुक्रबार बिर्तामोडमा सम्पन्न बैठकले महासंघको आगामी साउन २७ गते बिहीबार आयोजना हुने १७औँ स्थापना दिवसको अवसरमा उनलाई नगद पुरस्कार १३ हजार १७ रुपैयाँसहित सम्मानपत्रबाट सम्मानित गरिने भएको हो ।
सोही दिन यस वर्षको उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमकी पुष्पा सुब्बा र सनराइज एफएमकी शारदा खवासलाई जनही १५ सय १७ रुपैयाँसहित प्रोत्साहन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने निर्णय पनि भएको प्रचार प्रसार समितिका संयोजक अमित खम्बूले जानकारी दिए ।