महेन्द्रनगर । प्रदेश नं २ प्रदेशसभा विधेयक नपाएर अहिले सुस्तगतिमा चलिरहेको छ ।
प्रदेशसभालाई सक्रिय बनाउने प्रमुख जिम्मेवारी सरकारको भए पनि काम दिन सकेको छैन । सरकारले ‘बिजनेस’ दिन नसक्दा प्रदेश नं २ संसद् लामो समयसम्म स्थगन हुने गरेको छ । विसं २०७४ माघ ३ गतेदेखि शुरु भएको प्रदेशसभाले अहिलेसम्म ११ विधेयक पारित गरेको छ ।
गत वर्ष माघ ३ देखि यस वर्ष जेठ ३ सम्म चलेको पहिलो अधिवेशनमा २६ र जारी दोस्रो अधिवेशनमा अहिलेसम्म २४ बैठक बसेको छ । पछिल्लो पटक यही साउन २० मा बोलाइएको प्रदेशसभा बैठक सांसदलाई एसएमस गरेर पाँच दिन स्थगन भयो । साउन २५ मा बोलाइएको बैठक मुश्किलले १० मिनेट चलेर साउन ३० सम्मका लागि स्थगन गरिएको छ ।
प्रथम र दोस्रो अधिवेशन गरी प्रदेश २ प्रदेशसभामा हालसम्म जम्मा ५० बैठक बसेकामा बैठक बसेको सङ्ख्याको एक तिहाइ विधेयकसमेत पारित हुनसकेको छैन । ठूलो सङ्ख्यामा विधेयक ल्याउन बाँकी रहेको अवस्थामा सदनलाई सक्रिय बनाउन नसक्नुमा प्रदेश सरकारको दोष रहेको प्रतिपक्षी दलका साथै सत्ता गठबन्धनका दलले आरोप लगाएका छन् ।
यद्यपि संसद् सचिवालयका उपसचिव रञ्जीत यादवले नयाँ अभ्यास गरिरहेको अवस्थामा पाँच –छ महीनामा ११ विधेयक पारित हुनुलाई सुस्त भन्न नसकिने बताए । छलफल प्रक्रिया लम्बिँदा आगामी दिनमा विधेयक पारित गर्न थप ढिलाइ हुने उनको भनाइ छ ।