धादिङ – धादिङको गोगनपानी गाविसकी एक बालिकालाई छिमेकी एक किशोरले बलात्कार गरी हत्या गरेको बालिकाको परिवारले आरोप लगाएको छ ।
गोगनपानी–३ की ४ वर्षकी एक बालिकालाई १४ वर्षका किशोरले बलात्कार गरेर हत्या गरेको आरोप लगाउँदै कारबाहीको माग गर्दै बालिकाको परिवारले उजुरी दिएको छ । मृतक बालिकाका बुवाआमा साउन ३ गते बालिकालाई घरमा छाडेर खेतमा काम गर्न गएका थिए ।
बेलुका घर आउँदा बालिकालाई घरमा देखेनन् । सोधखोज भयो । छरछिमेक तथा घर वरिपरि खोजी गरियो । तर भेटिएन । साउन १० गते एक जना छिमेकीले बारीमा घाँसकाट्न जाँदा बालिकाको शव देखेका थिए । बालिकाको शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थल हेर्दा बालिकाको शव नजिकै कपडा भेटिएको र बलात्कार गरिएको संकेत समेत भेटिएको थियो । घटनापछि आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको र यस घटनामा दुवै पक्ष बालबालिका भएकाले सबै विवरण सार्वजनिक गर्न नमिल्ने बतायो ।