पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक प्रतिष्ठानको विकास, संरक्षण र प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा यहाँ आयोजित एक कार्यक्रममा समाजसेवी सुुशीलकुमार गोशलीको परिवारद्वारा निर्मित अष्टभूजाकारको शिवानन्द कुण्ड, पञ्चधारा र दुई फलेचाको आज उद्घाटन गर्दै उहाँले धार्मिक क्षेत्रलाई प्रदेशको समृद्धिमा उपयोग गरिने बताउनुभयो ।
मुलुकमा मानवतासँग जोडिएको समृद्धिको खाँचो रहेको औंल्याउँदै मुख्यमन्त्री गुरुङले समाजका विद्यमान असमानता, विभेद, गरिबीको अन्त्य, जेष्ठ नागरिकको सम्मान आवश्यक रहेको उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश भौतिक, सामाजिक, संस्कृतिक हिसाबले अब्बल रहेको बताउँदै उहाँले सभ्यता र संस्कृतिको संरक्षण गर्दै त्यसको माध्यमबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समाजसेवी सुशीलकुमार गोशलीले बुबा स्वामी शिवानन्द गोशली बाबाको स्मृतिमा ७० लाखको लागतमा उक्त आशुतोष भगवान शिवस्वरुप शिवलिंग सहितको पञ्चधार, फलेचा निर्माण गरी विन्ध्यवासिनी क्षेत्र विकास समितिलाई हस्तान्तरण गर्नुभएको हो ।