बुटवल । नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र नेपाली काँग्रेस केसीका मागलाई भन्दा सरकारलाई असफल बनाउन आन्दोलनमा उत्रिएको बताएका छन् ।
नेकपाका सस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा पार्टी रुपन्देही क्षेत्र नं २ ले आज आयोजना गरेको स्मृति कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विगतमा काँग्रेसकै नीतिका कारण शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको लगानी भएको बताउँदै विगतमा शिक्षा र स्वास्थ्यमा लगानी गराउन उत्प्रेरित गर्ने काँग्रेसले अहिले सडकमा आन्दोलन गर्नु अनुपयुक्त रहेकाे बताए ।
उनले सरकारले समाज सुधार र परिवर्तनका काम अघि सारेपछि ऊमाथि अहिले चौतर्फी प्रहार भइरहेको भन्दै भने, “यातायात क्षेत्रको सिण्डिकेट, काम नगर्ने ठेकेदारमाथिको कारवाही, वैदेशिक रोजगारीमा पठाउने एकलौटी व्यवहारको अन्त्य, गैरसरकारी संघसंस्था र दाताबाट आउने रकमको व्यवस्थापनलगायतका क्षेत्रमा सरकारले सुधार ल्याउन खोजेकाले चौतर्फी प्रहार भएको हो ।”
उहाँले प्रा डा केसीको काठमाडाँैमा अब मेडिकल खोल्नु हुँदैन भन्ने माग मनमोहन कलेजका विरुद्ध भएको आरोप पनि लगाउनुभयो । मुख्यमन्त्री पोखरेलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि यी क्षेत्रको लगानीलाई नाफारहित बनाउनुपर्ने बताउनुभयो ।