काठमाडौं । झण्डै साढे ४ करोड ठगीको आरोपमा माई इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष अनिल गजमेर पक्राउ परेका छन् । प्रहरीको खोजीमा रहेका गजमेर मंगलबार लाजिम्पाटबाट पक्राउ परेका हुन् ।
उनीविरुद्ध प्रहरीमा दर्जानौं उजरी छ । समिर रिमालले ५४ लाख ठगीको उजुरी दिएका छन् भने राजेन्द्र महर्जनसहित ११९ जनाले ३ करोड ५५ लाख र सुरेन्द्रप्रसाद मास्केसहित ५ जनाले २२ लाख रुपैयाँ ठगी गरेको उजुरी दिएका थिए ।
बालुवाटारस्थित कालिका टावरमा माइ इन्भेष्टमेन्ट कम्पनी खोलेका उनले आफ्नो कम्पनीमा लगानी गरे २० देखि २५ प्रतिशतसम्म ब्याज रकम पाउने, शेयर र मुनाफा पनि छुट्टै दिने भनेर प्रलोभनमा देखाउँदै ठग्ने गरेको पीडित बताउँछन् ।
प्रहरीले खोजी थालेपछि उनले अदालत र गृहमन्त्री गुहारे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेताको सहयोगमा गृहमन्त्रीसम्म पुगेको उनले पछिल्लो समय फरार थिए ।
उनले कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ता भएपछि हालसम्म लेखा परिक्षण प्रतिवदेन लगायतका कुनै पनि विवरण रजिष्ट्रारको कार्यालयमा पठाएका छैनन् ।
माई इन्भेस्टमेन्ट लिमिटेडको ०६७ सालदेखि कम्पनी ऐन र प्रचलित कानुन बमोजित गर्नु पर्ने साधारणसभा समेत भएको छैन । कम्पनीमार्फत उनले ४ सय जना व्यक्तिहरुलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
राष्ट्र बैंकको इजाजत समेत नलिइ विभिन्न व्यक्तिसँग निक्षेप र कर्जा लिने काम गरेको पाइएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीविरुद्ध नै उजुरी !
मेनपावर व्यवसायी राधिका कटुवालले एक महिनाअघि गजमेरबाट ठगिएको भन्दै काठमाडौं प्रहरी परिसरमा जाहेरी दिइन् । उनले दिएको जाहेरीमा उल्लेख भए अनुसार शेयर र मुनाफा छुट्टै दिने भन्दै उनलाई ३५ लाख रुपैयाँ लगानी गर्न लगाइएको थियो ।
त्यसको केही समयसम्म उनले मुनाफा त पाइन् तर, शेयर भने पाइनन् ।
‘मैले कम्पनीमा शेयर नपाएपछि रकम फिर्ता लिएँ । तर, त्यसको केही समयपछि शेयर दिने भन्दै फेरि पैसा मागियो’ जाहेरीमा भनिएको छ, ‘तर, त्यस पटक भने मैले न त मुनाफा पाए न त शेयर नै ।’
उनको उजुरीपछि प्रहरीले गजमेरलाई नियन्त्रणमा लियो । तर, त्यसअघि गजमेरले आफूलाई धरपकड गर्न खोजियो भन्दै निषेधाज्ञाको माग गर्दै उच्च अदालत, पाटनका पुनरावेदन दिएका थिए ।
अदालतले देवानी मुद्दामा व्यक्ति पक्राउ नगर्न भनी आदेश दियो ।
परिसरले उनलाई देवानी मुद्दामा नभइ, ठगी मुद्दामा पक्राउ गरेको थियो । तर, उनले भने अदालतमा मुद्दा हुँदा हुँदै पक्राउ गरिएको भन्दै गृहमन्त्रालयमा उल्टै प्रहरीविरुद्ध उजुरी हालेका छन् ।
उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताको सहयोगमा गृहमन्त्रीसम्म पुगेको स्रोतको दाबी छ । कटुवाललाई भने उनले एक वर्षपछिको मिति राखेर लगानी बराबरको रकमको चेक दिएका छन् ।
काठमाडौं अदालतमा ८ मुद्दा, साढे २ करोड बिगो दाबी
प्रहरीका अनुसार गजमेरको ठगी गर्ने शैली एउटै छ । कम्पनीको ब्याज र शेयर दिन भन्दै पैसा लिन्छन्, रकम हात लागेपछि दिँदैनन् ।
०७४ पुसदेखि ०७५ बैशाखको अवधिमा गजमेरबाट पीडित ८ जनाले काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका छन् । उनीहरुले साढे २ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेका हुन् ।
२८ पुस ०७४ मा सिन्धुलीको गोलन्जोर-२ का लोकहरि पौडेलले ४५ लाख ५१ हजार ६ सय ६७ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेका छन् ।
त्यस्तै २ वैशाख ०७५ मा काठमाडौं-१३ कि सुनिता बज्राचार्यले २ लाख ८७ हजार, काठमाडौं-१६ की अञ्जना बज्राजार्यले ३ लाख, २३ वैशाखमा कास्कीको पोखरा लेखनाथ-८ का इन्द्रबहादुर गुरुङले १५ लाख ६२ हजार ७ सय ७८ र वडा नं. १० का रामबहादुर गुरुङले ३६ लाख ५६ हजार ९ सय ४४ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेका छन् ।
त्यस्तै, पोखराकै भुपालजंग कुँवरले ७० लाख ३२ हजार ५ सय, लक्ष्मीप्रसाद गुरुङले ३० लाख २५ हजार ५ सय ५५ र वीरबहादुर गुरुङले ३९ लाख ६ हजार ९ सय ४४ रुपैयाँ विगो दाबी गरेका छन् ।
राष्ट्र बैंकको इजाजतविनै कारोबार !
स्रोतका अनुसार उनले कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ता भएपछि हालसम्म लेखा परिक्षण प्रतिवदेन लगायतका कुनै पनि विवरण रजिष्ट्रारको कार्यालयमा पठाएका छैनन् । यो कम्पनीको ०६७ सालदेखि कम्पनी ऐन र प्रचलित कानुन बमोजित गर्नु पर्ने साधारणसभा समेत भएको छैन ।
कम्पनीमार्फत उनले उनले ४ सय जना व्यक्तिहरुलाई ठगी गरेको निष्कर्षसहित प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं प्रहरी परिसरका एक अधिकारीका अनुसार राष्ट्र बैंकको इजाजत समेत नलिइ गजमेरले विभिन्न व्यक्तिसँग निक्षेप र कर्जा लिने काम गरेको भेटिएको छ, जुन राष्ट्र बैंक ऐन, २०५८ विपरीत हो ।