झापा । प्रेस काउन्सिल नेपालले झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई स्पष्टीकरण मागेको छ । समाचारको विषयमा अधिकार क्षेत्र बाहिर गई पूर्वाञ्चल दैनिकलाई स्पष्टीकरण पत्र काटेको भनी नेपाल पत्रकार महासंघ झापाको उजुरी पछि काउन्सीलले सहायक प्रजिअ सापकोटाका नाममा स्पष्टीकरण पत्र काटेको हो ।
स्पष्टीकरण पत्रमा आमसञ्चार माध्यममा प्रकाशित समाचार सामग्रीबाट पत्रकार आचार संहिता उल्लंघन भएको स्थितिमा प्रेस काउन्सिल नेपालले ‘आवश्यक कारवाही र छानविन गर्ने’ व्यवस्था प्रेस काउन्सिल ऐन २०४८ को (ङ) र (छ) मा हुँदाहुँदैै अधिकार क्षेत्र बाहिर गई किन पत्र काटेको हो ? भन्ने प्रश्न गरिएको छ । सो सम्बन्धी जवाफ सात दिनभित्र पेश गर्न काउन्सिलले सहायक प्रजिअ सापकोटालाई भनेको छ ।
काउन्सीलका अनुगमन अधिकृत रहमतुल्ला मियाद्वारा हस्ताक्षरित जवाफ पेस गर्ने सम्बन्धी उक्त पत्रको बोधार्थ प्रेस काउन्सिलका अध्यक्ष, काउन्सिलका मुख्य अधिकृत, उपप्रशासकीय अधिकृत र पत्रकार महासंघ झापालाई दिइएको छ ।