धनगढी । प्रदेश नं ७ प्रदेशसभाको बैठकमा सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याएको बजेटमाथिको छलफल आजबाट पुनः शुरु भएको छ ।
गएको आइतबारयता बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षले अवरोध सिर्जना गर्न थालेपछि बजेटमाथिको छलफल हुन सकेको थिएन ।
सरकार र प्रतिपक्षीबीच बैठक सञ्चालन बनाउनेबारे भएको सहमतिपछि बुधबार बसेको प्रदेशसभाको बैठकको विशेष समयमा सरकारका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले बजेटको विषयलाई लिएर देखिएको प्रतिपक्षीको असन्तुष्टिको सुनुवाइ गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
आजको बैठकमा प्रदेशसभा सदस्यहरु बलदेव रेग्मी, पूर्णा जोशी, लालबहादुर खड्का, अमरबहादुर साउदले सरकारले ल्याएको बजेट कार्यक्रमको स्वागत तथा समर्थन गर्नुभयो भने प्रतिपक्षका सदस्य भरतबहादुर खड्का, अम्बीकुमारी थापा र मालामतिकुमारी राना थारुले सरकारले डल्लो बजेट ल्याएको भन्दै त्यसको विरोध गर्नुभएको थियो ।
प्रदेशसभाको अर्काे बैठक असार १५ गते अपराह्न ४ बजे बस्नेछ ।