भद्रपुर । शनिवारदेखि लगातार परेको बर्षाका कारण मंगलबारसम्ममा झापामा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा धुलावारी घर भई गौरादह बस्दै आएका अनुज न्यौपाने, गोलधाप –८ निवासी कालीवहादुर लिम्बू र गौरादह –५ का टेकेन्द्र खड्का रहेका छन् ।
खोलाले बगाएर बेपत्ता हुनेहरुमा खजुरगाछी ३ का रेकुकुमार गनगाई र कुमरखोद–४ स्थायी बसोबास गर्दै आएका भारत घर भएका १८ वर्षीय कालु भनिने बाबुलाल मर्डीलाई माई खोलाले बगाएर बेपत्ता बनाएको छ ।
गौरीगञ्ज ५ का ११ वर्षीय दीपेश गिरी घाइते भएका छन् । घर नजिकैको खोला हेर्न गएका उनी खोला बढेर आएपछि भाग्ने क्रममा कल्भटबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । लगातार आएको वर्षका कारण जिल्लाका दुई हजार २ सय ८३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले झापामा एक हजार पाँच सय जना बाढीबाट विस्थापित भएको जानकारी दिएका छन् । उनीहरुलाई सामुदायिक भवन तथा नजिकका विद्यालयहरुमा राखिएको छ ।
झापाका रतुवा, कनकाई, विरिङ तथा मेची नदीले हजारौं विगाहा खेतियोग्य जमिन कटान गरेको छ । राजमार्ग दक्षिणका अधिकांश घरहरुमा करीब ५ फिटसम्म पानी जमेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । मंगलबार पूर्व पश्चिम राजमार्गमा पर्ने लक्ष्मिपुर उत्तर पाण्डवपुरमा विरिङ खोलाको तटबन्ध खोलाले भत्काउन नदिन सुरक्षाकर्मी तथा स्थानीयबासी दिनभर जुटे ।
मंगलबार दिउँसो १२ बजेर ३३ मिनेटमा खतराको चिन्ह पार गरेको कनकाई नदीमा अहिले पानी बहाव केही घटेको तर सचेत भने रहन जिल्ला प्रशासन कार्यालय झापाले कनकाई आसपासका सर्वसाधारणलाई आग्रह गरेको छ ।