बुटवल । प्रदेश नं. ५ मा आव २०७५÷०७६ का लागि राजश्व र व्ययको अनुमान (बजेटमाथिको सैद्धान्तिक छलफल) आज सकिएको छ ।
बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी विपक्षी दलका प्रदेशसभा सदस्यले बजेट बहुमतको दम्भमा आएको आरोप लगाएका थिए ।
विपक्षी दलका प्रदेशसभा सदस्य वैजनाथ कलवारले बजेटको विषय संशोधन नभए रोष्टम घेरा गर्ने चेतावनी दिँदै बजेटका लागि मन्त्रालयको ढोका ढक्ढक्याउने पक्षमा नरहेकाे बताए ।
प्रदेशसभा सदस्य विष्णु पन्थीले बजेटले सामाजिक उत्तरदायित्वको भावना बोकेको उल्लेख गर्दै कार्यान्वयन भए प्रदेश सरकारको सपना साकार हुने बताए ।
प्रदेशसभा सदस्य इन्द्रजीत थारुले बजेट संघीय सरकारमा आश्रित भएको टिप्पणी गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाका लागि राष्ट्रिय पुँजीको विकास आवश्यक रहेकाे बताए।
प्रदेशसभा सदस्यले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ को पर्यटन विकासको विषय रणनीतिक लक्ष्य भएको जानकारी दिँदै पर्यटनको कुरा गर्ने हो भने मोनोरेलको अवधारणा अनिवार्य आवश्यक्ता रहेकाे बताए ।
उनले स्मार्ट कृषिका लागि रु २६ करोड छुट्टाइएको उल्लेख गर्दै सडक सञ्जालले विभिन्न जिल्लालाई जोडेर विकास गर्ने लक्ष्य लिइएको पनि बताए ।
बैठकमा प्रदेश नं ५ को प्रदेशसभा (पहिलो संशोधन) नियमावली २०७५ सर्वसम्मतीले पारित भएको छ । यसअघि प्रदेशसभा नियमावली २०७४ लाई संशोधन गर्न बनेको मस्यौदा नियमावली प्रदेश नं ५ को प्रदेशसभा (पहिलो संशोधन) नियमावलीमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रदेशसभा सदस्य कृष्णध्वज खडकाले प्रस्तुत गरेका थिए ।
त्यस्तै मुख्यमन्त्री तथा आर्थिक मामिला एवं योजनामन्त्री शंकर पोखरेलले सेवा र कार्यका लागि विनियोजन सम्वन्धमा बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए ।