झापा, १० साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण झापामा कुनै पनि सवारी–साधन चल्न सकेका छैनन् । बन्दको आह्वानपछि स्कुल तथा कलेज पनि बन्द भएका छन् ।
केही दिनदेखिको अविरल वर्षासँगै बन्द आह्वान गरिँदा दैनिकी अझ कष्टकर बनेको छ । प्राकृतिक विपत्तिले दैनिकी कष्टप्रद भएका बेला राहत र सहयोगका कार्यक्रम गर्नुपर्नेमा बन्द गरिँदा जनता अझ मर्कामा परेको धरान जान बिर्तामोड बसपार्कमा बसेका शिव थकालीले बताए । ‘पानीले बेहाल छ, त्यसमा पनि बन्द’, उनले आक्रोशित हुँदैन भने, ‘दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने हो तर पीडामाथि पीडा थपिने काम मात्र भएको छ ।’
यसैबीच, बन्दको अवज्ञा गरेको भन्दै काठमाडौंको नयाँबानेश्वरमा ट्याकसीमा आगजनी भएको छ । माओवादी कार्यकर्ताले आज बिहान करीब चार बजे नयाँ बानेश्वरमा बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । आगजनीबाट ट्याक्सी पूर्णरुपमा जलेर क्षति भएको छ । ‘विप्लव’ माओवादीले बन्दको अवज्ञा गरेकाले ट्याक्सीमा आगजनी गरिएको जनाएको छ ।
नेकपा माओवादीको बन्दलाई ध्यानमा राखेर राजधानीमा उच्च सुरक्षा सर्तकर्ता अपनाइएको छ । बन्दका कारण सवारी चल्न सकेका छैनन् ।
जबरजस्ती बन्द गराउन हिँडेका ‘विप्लव’ माओवादीका दुई दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।