धनगढी । प्रदेश न ७ को सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम आज सर्वसम्मतिले पारित भएको छ ।
प्रदेश प्रमुख मोहनराज मल्लले यही जेठ २६ प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम माथि जेठ२७, २८ र २९ गते छलफल भएको थियो । नीति तथा कार्यक्रमसहित सम्बोधनका लागि प्रदेशसभाको बैठक प्रदेश प्रमुखलाई ‘धन्यवाद ज्ञापन गर्दछ’ भन्ने धन्यवादको प्रस्ताव आजको बैठकमा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित भएको हो ।
यसअघि नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले अाफूहरु नयाँ अभ्यासमा रहेकाले सिक्दै सिकाउँदै अघि बढ्नुपर्ने अवस्था रहेको परिप्रेक्ष्यमा प्रदेशको विकास र समृद्धिलाई सबैको साझा प्रयासबाट अघि बढाउने सोच सरकारको रहेको बताए ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम स्पष्ट रहेको र कुनै गोलमटोल नगरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले समयमै बजेट खर्च हुन नसकी आसरमा मात्र आएर खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्न यससम्बन्धी विधि र कानून निर्माण गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
आगामी असार १ गते अपराह्न ३ बजे बस्ने अर्को बैठकमा सरकारले आव २०७५÷७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।