धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकले सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित गरेको छ ।
सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक छलफल तथा पारित गर्नका लागि बैठकमा प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।
उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सदस्य भरतबहादुर खड्का, मालामतिकुमारी राना थारु, लालबहादुर खड्का, देवकी मल्ल थापा र दुर्गा विकले भाग लिनु भएको थियो ।
यसैगरी स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई बैठकले सर्वसम्मतिले पारित गरेको छ । उक्त विधेयकको छलफलमा प्रदेशसभा सदस्य गोविन्दराज बोहरा, महेशदत्त जोशी र प्रेमप्रकाश भट्टले भाग लिनुभएको थियो ।
यी दुवै विधेयकमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ सामाजिक विकास मन्त्री सोडारीले दिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही जेठ २३ गते अपराह्न ३ बजे बस्नेछ ।