सुर्खेत । कर्णाली प्रदेशको प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ ।
आजको बैठकमा दोस्रो अधिवेशन शुरु भएको प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट प्राप्त पत्र सभामुख राजबहादुर शाहीले पढेर सुनाई अधिवेशनको शुरुवात गर्ने कार्यसूची रहेको छ ।
यस अघि पहिलो अधिवेशनकै क्रममा बैठकमा पेश भई छलफल भएको कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ आजको बैठकमा निर्णयार्थ प्रस्तुत हुने संसद सचिवाललयले जनाएकाे छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा चार वटा विधेयक पेश हुँदैछन् । प्रदेश सभा सचिवालयका सचिव राजेश पौडेलले सामाजिक संघसंस्था नियमन सम्बन्धी विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी बनेको विधेयक–२०७५, सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धी विधेयक र कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियासम्बन्धी बनेको विधेयक पेश हुने जानकारी दिनुभयो ।