विर्तामोड । नेपाली अर्थाेडक्स चियामा एन्थ्रोक्विनोन नामको रसायनिक पदार्थ भेटिएपछि उक्त चिया विदेश निर्यातमा समस्या आउन थालेको चिया व्यवसायीहरुले बताएका छन् ।
विभिन्न पश्चिमा मुलुकहरुमा निर्यात हुँदै गरेको तयारी चियामा देखिएको उक्त रसायनिक पदार्थको परिमाणलाई जसरी पनि कम गर्नुपर्ने परिस्थिति रहेको उनीहरुको भनाई छ । नत्र त्यस्तो चिया निर्यातमा अस्वभाविक रुपले गिरावट आउने उनीहरु बताउँछन् ।
एन्थ्रोक्विनोन एउटा रसायनिक पदार्थ हो जुन अहिले नेपालमा उत्पादित अर्थाेडक्स चियामा पाइने गरेको बताइन्छ । विज्ञहरुका अनुसार उक्त पदार्थ मानव स्वास्थ्यका लागि हानिकारक हो ।
तर नेपालमा उत्पादित अर्थाेडक्स चियामा उक्त पदार्थ छ भन्ने कुरा पश्चिमा मुलुकहरुमा उक्त चियाको परीक्षणबाट थाह भएको केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्द दहाल बताउँछन् ।
दहालले भने, ‘पहाडमा उत्पादित विदेश निर्यात हुने चिया एन्थ्रोक्विनोन देखियो । कोही बेला इलामको गोर्खा टि स्टेटले निर्यात गरेकोमा समस्या आयो । कोही बेला हिमालय सांग्रीला, कोहीबेला पाँचथरको कञ्चनजंघाको तयारी चियामा ।’
अर्थाेडक्स चिया उत्पादकहरु भन्छन् एन्थ्रोक्विनोन कोइला, कागज तथा वातावरण प्रदुषणका कारण चियामा देखिएको हो । पूर्वी नेपालका पहाडि जिल्लाहरुमा उत्पादित अर्थाेडक्स चियाको परीक्षणमा एन्थ्रोक्विनोन भटिएपछि विश्व बजारमा नेपाली चियाको मागमा कमी आएको अमेरिका लगायत अन्य मुलुकमा चिया निर्यात गरिरहेको तिनजुरे कृषक सहकारी लिमिटेड फाकफोक इलामका बजार संयोजक नवीन कोइरालाको भनाई छ ।
उनले भने, ‘यो समस्यालाई चाँडो हल नगरिए आगामी बर्षहरुमा पहाडको चिया विदेश निर्यात हुन निकै कठिन हुन्छ ।’
तर आफूहरुसंग के कारणले एन्थ्रोक्विनाइनको मात्रा पाइयो भनेर पत्ता लगाउने जनशक्ति नभएको साखेजुंग इलामस्थित हिमालय सांग्रीला चिया उद्योगका निर्देशक कमलराज मैनाली बताउँछन् ।
मैनालीले भारत, श्रीलंका लगायत अन्य देशहरुका तयारी चियामा समेत यो समस्या देखिएकाले नेपाललाई मात्र यसले असर नगर्ने दाबी गरे । उनले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले के कारणले चियामा एन्थ्रोक्विनोन देखियो, त्यो पत्ता लाउनुपर्ने बताए ।
चिया तथा कफी विकास बोर्डसंग पनि दक्ष जनशक्ति नभएकाले उसले पनि नेपाल कृषि अनुसन्धान परिषद नार्कलाई गुहार्नुपर्ने परिस्थिति छ । चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बोर्डले नार्कलाई यसबारे जानकारी गराइसकेको बताए ।
उनले भने, ‘हामीसंग अनुसन्धानका लागि दक्ष जनशक्ति छैन । त्यसैले हामीले नार्कलाई नै भन्ने हो ।’ नेपालमा करीब बार्षिक करीब ४० लाख केजी अर्थाेडक्स चिया उत्पादन हुने गरेको बोर्डको तथ्यांक छ । त्यस्को धेरै हिस्सा तेस्रा मुलुकहरुमा निर्यात हुने गरेको छ ।