रुपन्देही । प्रदेश नं ५ को बजेट अधिवेशन आजदेखि शुरु भएको छ ।
प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको शुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोखरेललाई आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिनुभयो ।
मुख्यमन्त्री पोखरेलले प्राथमिकताका आधारमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने जानकारी दिँदै पूर्ण बजेट कार्यान्वयन सरकारको पहिलो प्राथमिकता हो भन्नुभयो ।
उहाँले भौतिक पूर्वाधारको विकास तथा कृषि, पर्यटन र उद्योग क्षेत्रको उत्थानका लागि समुचित बजेट विनियोजन गरिनेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्रदेश सरकारले प्राथमिकता भएको बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले समावेशीताको सिद्धान्तअनुसार बजेट निर्माण गर्ने जानकारी दिँदै २०७५ साउन १ देखि प्रदेश सरकारले राजश्व संकलन गर्ने गरी आधार तयार गर्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सडक, पुल, नहर र खानेपानीमा जनताको पहुँच पुर्याउन नयाँ बजेटको प्राथमिकता निर्धारण हुनेछ ।”