विराटनगर । प्रदेश १ काे प्रदेशसभा पहिलो अधिवेशन बुधबारबाट अन्त्य हुने भएको छ ।
प्रदेशसभाको ३९ औं बैठकमा बुधबार सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले पठाएको पत्र पढेर सुनाउदै आज मध्यरातीबाट पहिलो अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो ।
आजबाट पहिलो अधिवेशन अन्त्य हुने प्रदेशसभा सचिवालयका सचिव केदारप्रसाद पनेरुले बताउनुभयो । प्रदेशसभाको पहिलो बैठक गएको माघ २२ गते बसेको थियो । सभाले अहिलेसम्म सभाले १२ वटा विधेयकहरु पारित गरिसकेको छ । प्रदेश सभा नियमावली २०७४, प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४, विनियोजन विधेयक, प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण विधेयक २०७५, गाउँ सभा र नगर सभा सञ्चालनसंग सम्बन्धी विधेयक २०७५, आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयक २०७४, मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक २०७५, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक २०७५, गाउँ सभा र नगर सभाका सदस्यहरुको सेवा सुविधा सम्बन्धी विधेयक २०७५ र जिल्ला सभाका सदस्यहरुको सेवा सुविधा सम्बन्धी विधेयक २०७५ पारित भईसकेका छन् ।
हिउँदे धिवेशनको अन्त्य गरी नयाँ आर्थिक वर्षको लागि ‘बजेट’ र नीति तथा कार्यक्रम वर्षे अधिवेशनमा ल्याउने तयारीमा प्रदेश सरकार जुट्ने छ ।