विर्तामोड । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले झापाका ३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
उच्च शिक्षा अध्ययनका लागि आदिवासी जनजाति विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको आदिवासी जनजाति महासंघ जिल्लाका पूर्व अध्यक्ष प्रेमराज घिसिङले बताए ।
विर्तामोडमा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष प्रेमराज घिसिङ, नगर अध्यक्ष पदम बहादुर तामाङ र प्रतिष्ठानका सिनियर लेखापाल कुलनकुमार लामाले ३० जना विद्यार्थीलाई ८ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेका थिए ।
उनका अनुसार प्रतिष्ठानले देशभरका ५०० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । गत मंसिरमा देशभरबाट १५ हजार जनाले आवेदन दिएकोमा ५०० जना छनोटमा परेको प्रतिष्ठानका कर्मचारी दिलिप मास्केले बताए ।
प्रतिष्ठानले २०६८ सालदेखि आदिवासी जनजाति विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको हो ।