विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको बैठकमा अाइतबार ‘जिल्लासभा सञ्चालनका लागि कार्यविधि विधेयक–२०७५’ पारित भएको छ ।
वैशाख २० गते प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले टेबुल गर्नु भएको सो विधेयक आजको बैठकबाट संशोधनसहित पारित भएको हो ।
सभामुख प्रदीप भण्डारीले सदनमा विधेयक पारित भएको घोषणा गर्नु भएको थियो । उक्त विधेयकमाथि नेकपा एमाले, नेकपा माओवादी केन्द्रका ११ र नेपाली काँग्रेसका एक जनाले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
बैठकको शून्य समयमा प्रदेशसभा सदस्य कुलप्रसाद सावाले मोरङको उत्तरीक्षेत्रमा दर्ता नभएका र मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन भइरहेकाले तत्काल त्यस्ता उद्योग बन्द गर्न माग गर्नुभयो । उहाँले २१ वटा क्रसर उद्योगमध्ये आठवटा मात्र घरेलु उद्योगमा दर्ता भएको र अन्य मापदण्ड विपरीत सञ्चालित उद्योगले व्यापकरुपमा दोहन गरिरहेको विषयमा ध्यानाकर्षण गराउनुभयो ।