पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश विनियोजन विधेयक बहुमतले पारित गरेको छ ।
आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश विनियोजन विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रस्तावका पक्षमा सत्तापक्षका सदस्य रहनुभयो भने विपक्षमा प्रतिपक्षका सांसद रहनुभयो ।
यसअघि यही वैशाख २१ गतेको बैठकमा प्रतिपक्षी दलका तर्फबाट सरकारले रातो किताबमा गरिएको बजेट विनियोजनमा मनोमानी रुपमा रकम छुट्याइएको र यसले प्रदेशलाई उन्नतिको बाटोमा भन्दा पनि आर्थिक अनियमितताको बाटोमा लैजाने भन्दै बैठक अवरुद्ध गरिएको थियो ।
आजको बैठक अपराह्न १ बजेका लागि बोलाइए पनि प्रतिपक्षले रातो किताबमा विनियोजन भएका रकम र शीर्षक सम्बन्धमा विभिन्न नौबुँदे ध्यानाकर्षणपत्र सरकारलाई बुझाएकामा त्यसलाई सम्बोधन गर्नुपर्ने माग राखेका कारण केही समय बैठक शुरु हुन सकेको थिएन ।