काठमाडौं । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले अनसनरत डाक्टर गोविन्द केसीका माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन दिएको छ ।
त्रिवी शिक्षण अस्पतालमा पुगेर डाक्टर केसीको स्वास्थ्य अवस्था बुझेपछि समितिले सरकारलाई डाक्टर केसीका माग तत्कालै सम्बोधन गर्न निर्देशन दिएको हो । यसअघि गरेका सहमति पनि कार्यान्वयन नभएको र नयाँ माग पनि जायज रहेकाले उहाँका मागमा गम्भीर हुन, प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिइएको समितिका सभापति सुशिल कुमार श्रेष्ठले जानकारी दिए ।
समितिका सदस्यसँग डाक्टर केसीले आफूलाई सरकारी पक्षले सहयोग नगरेपनि आफ्नो आन्दोलन नरोकिने बताएका थिए । तर डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्न सामाजिक न्याय तथा मानव अधिकार समितीमै रहेका एमाले सांसदहरु भने शिक्षण अस्पताल गएनन् । सामाजिक न्याय तथा मानवअधिकार समितीमा ४४ जना सांसद भएपनि जम्मा १० जना सांसद शिक्षण अस्पताल पुगेका थिए । सांसदहरु शिक्षण अस्पताल पुगेपछि डाक्टर केसीका समर्थकले माग पूरा गर्न भन्दै नाराबाजी गरेका थिए ।
अनशनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उहाँको स्वास्थ्यमा नयाँ समस्या नदेखिएपनि पुरानै समस्या बढ्दै गएको डाक्टरहरुले बताएका छन् । अनशनमा धेरैपटक बसिरहेकाले उहाँको शरीर छिटो नै थाक्ने गरेको डाक्टर जीवन क्षेत्रीले बताए । अनशन बसेको नवौं दिन भइसक्दा पनि उहाँको माग बारे सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।