पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको राजश्व र व्ययको अनुमानका सम्बन्धमा छलफल भएको छ । बैठकमा मन्त्री गुरुङले बजेटले प्रदेशको समृद्धि र विकासको मार्गप्रशस्त गरेको बताउनुभयो ।
मन्त्री गुरुङले बजेटमा पर्यटन क्षेत्रको विकास र विस्तार, ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन, कृषि क्षेत्रको व्यवसायीकरण र औद्योगिकीकरण तथा औद्योगिक क्षेत्रको विकास र विस्तार आदिमा जोड दिइएको बताउँदै गुणस्तरीय कृषिको विकासका लागि प्राङ्गारिक मल कारखाना स्थापना, स्वास्थ्य, शिक्षालगायतमा सरकारले प्राथमिकता दिएको तथा प्रदेशभित्र एक हजार शय्याको एक अस्पतालका साथै प्रत्येक नगर र गाउँपालिकामा ५०÷५० शय्याका सुविधासम्पन्न अस्पताल स्थापना गरिने जानकारी दिनुभयो ।