काठमाडौं । अाज साउने संक्रान्ति पर्व । सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यो दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । अाज लुताे फाल्ने दिन नि भनिन्छ ।
कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।
बेलुका लुतो, दाद आदि चर्मादी रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादी रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो ।
यस्तै महिलाहरु आजदेखि साउन महिनाभर सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनुका साथै शिवलाई खुसी पार्न सोमबारे व्रत बस्छन् ।
साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको घुईंचो लाग्ने गर्छ । साउने सङ्क्रान्तिपछि चाडपर्वको लहरसमेत सुरु भएको मानिन्छ ।