धुलाबारी । मेचीनगर लेडी जेसीजले शनिबारबाट साताव्यापी कार्यक्रम गर्ने भएको छ ।
शुक्रबार झापाको धुलाबारीस्थित लेडी जेसीजको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा जेसीज जन्मोत्सव अन्तर्गत जनस्तरमै विभिन्न कार्यक्रममा गर्न लागिएको जनाइएको हो ।
मेचीनगर लेडी जेसीजकी अध्यक्ष उषा श्रेष्ठले शनिबार शान्तिनगरमा स्वास्थ्य शिविरको आयोजना गरी जेसीज सप्ताह शुरु हुने बताइन् । आइतबार चारआलीमा प्रजननसम्बन्धी अन्तरक्रिया, साउन ३ गते वृक्षरोपण, धुलाबारीका रिक्सा चालकहरुलाई माक्स वितरण गर्ने र लागूपदार्थ दुव्र्यसनीविरुद्ध विद्यार्थीलाई तालिम गरिने उहाँले बताउनु भयो । साउन ५ गते काँकरभिट्टामा रक्तदान कार्यक्रमको आयोजना गर्ने श्रेष्ठले बताइन् ।
लेडी जेसीजकी अध्यक्ष उषा श्रेष्ठको सभापतित्व र महासचिव शोभा श्रेष्ठको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष कविता शर्माले मानवीय सेवामा जुट्ने अभियान अनुसार साताव्यापी कार्यक्रम गर्न लागिएको बताइन् । पत्रकार सम्मेलनमा निवर्तमान अध्यक्ष टिका सुबेदी, कार्यकारी उपाध्यक्ष सुनिता पनेरु, उपाध्यक्ष रश्मी थापालगायतले कार्यक्रमको तयारीबारे जानकारी गरेकि थिइन् ।