
काठमाडाैं । धन कमाउने आसमा जोर्डन पुगेकी झापा बिर्तामोडकी ३२ वर्षीया धनमाया बस्नेत अहिले सडकमा छिन् । उनको पेटमा ८ महिनाको बच्चा छ । श्रीमान् र परिवारको अनुरोधमा घरेलु कामदारका लागि १९ महिनाअघि जोर्डन पुगेकी धनमाया काम गरेको कम्पनीमा बलात्कृत भइन् ।
गलैंचा फ्याक्ट्रीमा काम गर्ने धनमाया भारतीय सहकर्मीबाट बलात्कारको सिकार भएकी थिइन् । आफूलाई परेको कारुणिक पीडाबारे खुल्दै उनले थपिन्, ‘एकलासको बाटो थियो । पछाडिबाट एक जनाले अँगालो हाल्यो र लडायो अनि रुमालले मेरो मुख थुनेर बलात्कार ग¥यो । उसले मलाई जेजे गर्नु थियो सक्यो अनि छाडेर भाग्यो । वरिपरि कोही थिएनन् र मैले पनि न्याय नपाउने डरमा यो घटना कसैलाई सुनाइन् ।’
घटनाबाट पीडित उनी बाँच्नु न मर्नुको अवस्थामा पुगिन् । ‘मर्न खोजें मर्न सकिनँ, नेपाल आएँ ज्युँदै मरें,’ ९ दिनअघि श्रीमान् र परिवारका सदस्यले घरनिकाला गरेपछि न्यायको खोजीमा भौंतारिएकी धनमायाले गहभरि आँसु पारेर भनिन् । उनलाई कम्पनीका म्यानेजरले गत महिना मात्रै नेपाल डिपोट गरेका थिए । अाजकाे राजधानीमा खबर छ ।