काठमाण्डाैं । प्रदेश नं ७ को सरकारले भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै सहज एवं सरल रुपमा व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यसहितको श्वेतपत्र जारी गरेको छ ।
प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जारी गर्नुभएको श्वेतपत्रको आगामी कार्यदिशामा प्रदेशमा आधुनिक अस्पताल र मेडिकल कलेजको स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र सञ्चालन गर्न विशेष योजना कार्यान्वयन गरिने उल्लेख छ ।
यस्तै राष्ट्रिय गौरवका आयोजनाको निर्माणलाई तीव्रता दिन पहल गर्ने, प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने, प्रदेशको उच्च आर्थिक वृद्धिदर हासिल गर्न दिगो विकास कायम गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आवधिक योजनाको तर्जुमा गर्ने लगायतका विषयलाई पनि महत्व दिइएको छ ।
श्वेतपत्रमा प्रदेश नं ७ को मानव विकास सूचकाङ्क शून्य दशमलब ४३५ रहेकोमा बाजुराको मानव विकास सूचकाङ्क सबैभन्दा न्यून शून्य दशमलव ३६४ तथा कञ्चनपुरको सबैभन्दा बढी शून्य दशमलव ४७५ रहेको श्वेतपत्रमा उल्लेख छ ।