काठमाण्डाैं । कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा यही वैशाख १ गतेबाट रारा तालमा शुरु हुने पर्यटन वर्षको तयारीको काम अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
कर्णालीको राराबाट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को उद्घाटन गर्ने कार्यक्रम रहेको बताउँदै उहाँले राराबाटै कर्णालीको समृद्धि र विकासको यात्रा शुरु हुने भन्नुभयो ।
मन्त्री ज्वालाकाअनुसार कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को शुभारम्भका लागि सुरक्षा, आवास, भोजन, स्वागतलगायतका तयारी पूरा भएका छन् । पर्यटन वर्षलाई सफल बनाउनका लागि प्रदेशका १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति गठन गरिएका छन् । यसका साथै कालिकोट, डोल्पा र हुम्लामा पनि पर्यटन वर्षको तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो ।